खबरदिशा डेक्स
डोल्पा । त्रिपुरासुन्दरी नगरपालिकामा सञ्चालित पाँचौँ मेयर कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक घरेलु टोली त्रिपुरासुन्दरी युथ क्लबले जितेको छ। रोमाञ्चक फाइनल प्रतिस्पर्धामा मुड्केचुला गाउँपालिकाको टोलीलाई ३–१ सेटले पराजित गर्दै घरेलु टोलीले उपाधिमाथि कब्जा जमाएको हो।
उपाधिका लागि भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि निर्णायक सेटमा घरेलु टोलीले बाजी मार्दै पहिलो स्थान सुरक्षित गर्यो। पराजित मुड्केचुला टोली दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो।
यसैगरी, तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा यार्सा स्पोर्ट्स क्लब माझफालले त्रिपुरासुन्दरी नगरपालिका–८ को टोलीलाई ३–२ सेटले पराजित गर्दै तृतीय स्थान हासिल गरेको छ। चौथो स्थान भने वडा नम्बर ८ पहाडाको टोलीले प्राप्त गरेको छ।
समापन समारोहमा नेपाली कांग्रेसका पार्टी सचिव हिक्मत शाही, नेकपा एमालेका जिल्ला अध्यक्ष लंकबहादुर रोकाया र नेकपाका सहइन्चार्ज बबिकिशोर गुरुङले जिल्लाको खेलकुद विकासप्रति राज्यका माथिल्ला तहको उदासीनताप्रति असन्तुष्टि व्यक्त गरे।
जिल्लाबाट निर्वाचित प्रदेश तथा संघीय सांसदहरूले स्थानीय खेलाडीको संरक्षण, क्षमता अभिवृद्धि र खेलकुद पूर्वाधार विकासमा अपेक्षित ध्यान दिन नसकेको भन्दै उनीहरूले यसतर्फ गम्भीर पहल हुनुपर्ने आवश्यकता औँल्याए।
समापन समारोहमा प्रमुख अतिथि बोहोरा, नगरप्रमुख रोकाया, उपप्रमुख देवी घर्तीलगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले विजेता, उपविजेता, तृतीय र चौथो स्थान हासिल गर्ने टोलीका साथै उत्कृष्ट खेलाडीलाई प्रमाणपत्र, नगद पुरस्कार तथा उपाधि प्रदान गरेका थिए।यसैबीच ब्याडमिन्टन खेल प्रतियोगितामा पहिलाे दाेर्साे र तेर्साे स्थान हासिल गर्ने खेलाडी टिमलाई पनि नगद सहित मेडलका साथ प्रमाणपत्र वितरण गरिएकाे थियाे ।











