विष्णुप्रसाद देवकोटा
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठै जना कैदीबन्दीको नाम खुलेको छ। फरार हुनेमा जबरजस्ती करणी मुद्दाका पाँच जना र चोरी मुद्दाका तीन जना रहेका छन्।
प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार शुक्रबार मध्यराति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेर उनीहरू फरार भएका हुन्।
फरार हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाया, त्रिपुरासुन्दरी–४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक रहेका छन्। उनीहरू सबै जबरजस्ती करणी मुद्दाका कैदी हुन्।
त्यसैगरी चोरी मुद्दामा कैद भुक्तान गरिरहेका जाजरकोटको नलगाड नगरपालिका–९ का कैलाश भन्ने कपिल परियार तथा पुर्पक्षका लागि थुनामा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारी पनि फरार भएका छन्।
डीएसपी गिरीका अनुसार फरार हुने आठ जनामध्ये छ जना कैदी र दुई जना पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति हुन्। घटनाअघि कारागारमा कैदीबन्दी तथा थुनुवासहित १७ जना रहेका थिए।
घटनाको जानकारी पाएलगत्तै शनिबार बिहान प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल र डीएसपी गिरीसहितको टोलीले कारागार पुगेर घटनास्थलको निरीक्षण तथा प्रारम्भिक अनुसन्धान थालेको छ।
४ मिटरभन्दा लामो सुरुङ खनेर आठ जना फरार हुनुले जिल्लाको मुख्य सुरक्षा निकायको निगरानीमा रहेको कारागारकै सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। कैदीबन्दीको गतिविधि, सुरक्षा निगरानी र कारागार प्रशासनको कार्यशैलीमाथि समेत प्रश्न उठेको छ।
यद्यपि, सुरुङ खन्ने कार्य कहिलेदेखि सुरु भएको थियो र सुरक्षा निगरानीबाट कसरी बच्न सफल भए भन्ने विषय अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ











