मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १७ , सोमबार

अनुमति र चेतावनी बेवास्ता गर्ने ६ भारतीय पर्यटकलाई जनही २० हजार जरिवाना

विष्णुप्रसाद देवकोटा
डोल्पा । आवश्यक अनुमति नलिई प्रशासनको चेतावनीसमेत बेवास्ता गर्दै जोखिमपूर्ण हिमाली यात्रा गरेका ६ जना भारतीय पर्यटकलाई जिल्ला प्रशासन कार्यालय डोल्पाले जनही २० हजार रुपैयाँ जरिवाना गरेको छ। हिमपातमा फसेपछि सिम्रिक एयरकाे  हेलिकप्टरबाट उद्धार गरिएका उनीहरूलाई अनुमति शुल्कबापत प्रतिव्यक्ति ४० अमेरिकी डलरसमेत तिराइएको छ।
प्रशासनका अनुसार प्रतिकूल मौसम र भारी हिमपातका कारण माथिल्लो डोल्पाको यात्रा जोखिमपूर्ण रहेको सूचना तथा चेतावनी जारी गरिए पनि उनीहरूले त्यसको बेवास्ता गर्दै आवश्यक अनुमति नलिई यात्रा गरेका थिए। सोही कसुरमा नियमानुसार जरिवाना तथा अनुमति शुल्क असुल गरिएको हो।
डोल्पो बुद्ध गाउँपालिकाको धो क्षेत्रबाट शे–फोक्सुण्डो तालतर्फ फर्किने क्रममा उनीहरू शे–फोक्सुण्डो गाउँपालिका–४ र ८ को बीचमा पर्ने नुमला पास र वागला पास क्षेत्रमा शनिबारदेखि अलपत्र परेका थिए।
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावले हिमाली क्षेत्रमा भारी हिमपात भएपछि हिउँमा फसेका दुई महिला र चार पुरुष पर्यटकलाई सिम्रिक एयरकाे हेलिकप्टरबाट सोमबार बिहान करिब साढे ६ बजे उद्धार गरी सदरमुकाम दुनै ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
उद्धारपछि उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल दुनै पुर्‍याइएको थियो। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन्।
उद्धार गरिएका पर्यटकमा मौमिता हल्दर, पियाली कोले, जाजला त्रिवेदी कुमार, आदित्य सिंह, दिप्लिना विश्वास र राजेश डे रहेका छन्।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्