मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १७ , सोमबार

कैदी फरार प्रकरणमा रास्वपाको ध्यानाकर्षण, निष्पक्ष छानबिन र सुरक्षा सुदृढीकरणको माग

विष्णुप्रसाद देवकोटा
डोल्पा । जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर आठ जना कैदी फरार भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोल्पाले निष्पक्ष छानबिन र जिल्लाको सुरक्षा व्यवस्था सुदृढ गर्न माग गरेको छ।
रास्वपा डोल्पाले जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै घटनामा जहाँबाट कमजोरी भएको भए पनि सम्बन्धित पक्षले जवाफदेही हुनुपर्ने जनाएको छ।
पार्टीले तत्काल आरोप–प्रत्यारोपमा अल्झिनुभन्दा फरार कैदीहरूको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्ने उल्लेख गरेको छ।यसका साथै कारागारको नियमित अनुगमन, सुरक्षा व्यवस्थापन र जिल्लाको समग्र सुरक्षा संयन्त्रको निगरानी प्रभावकारी थियो वा थिएन भन्ने विषयमा निष्पक्ष छानबिन गरी तथ्यका आधारमा कमजोरी पहिचान गर्नुपर्ने माग गरेको छ।
फरार कैदीहरूको खोजतलास तीव्र बनाउन, घटनाको निष्पक्ष अनुसन्धान गर्न तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका कदम चाल्न जिल्ला प्रशासन र प्रहरी प्रशासनलाई ध्यानाकर्षण पत्रमा आग्रह गरिएको छ।
रास्वपाले फरार व्यक्तिबाट जिल्लावासीको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमप्रति पनि सुरक्षा निकायलाई सतर्क हुन आग्रह गरेको छ। फरार व्यक्तिबारे कुनै विश्वसनीय सूचना प्राप्त भए तत्काल प्रहरीलाई जानकारी गराउन जिल्लावासीलाई अपिलसमेत गरेको रास्वा सदस्य ओमेन्द्र केसीले जानकारी दिए।
आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर सुरक्षा निकायलाई सहयोग गर्न राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण सरोकारवालालाई आग्रह गर्दै पार्टीले आवश्यक समन्वय र सहयोग गर्न आफू प्रतिबद्ध रहेको समेत रास्वपा डाेल्पाले जनाएको छ।
‘राज्यको सुरक्षा कमजोरीमाथि प्रश्न उठाउनु हाम्रो अधिकार हो भने जिल्लाको शान्ति सुरक्षाका लागि सहयोग गर्नु हाम्रो साझा कर्तव्य पनि हो,’ ध्यानाकर्षण पत्रमा भनिएको छ।
रास्वपा डोल्पाले कमजोरी भए सच्याउन, जिम्मेवारीमा रहेकाले जवाफदेही बन्न र जिल्लाको शान्ति सुरक्षा कायम गर्न सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखेको छ।
पार्टीका उपसभापति युवराज शाही र सचिव ज्ञानबहादुर बुढाद्वारा हस्ताक्षरित उक्त ध्यानाकर्षण पत्र जिल्ला प्रशासन कार्यालय डोल्पालाई साेमबार बुझाइएको हो।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्