मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १७ , सोमबार

आठ कैदी फरार घटनामा तीन राजनीतिक दलले गरे स्वतन्त्र छानबिन समितिकाे माग

विष्णुप्रसाद देवकोटा
डोल्पा । डोल्पा जिल्ला सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएको घटनाप्रति जिल्लाका तीन प्रमुख राजनीतिक दलले गम्भीर ध्यानाकर्षण जनाएका छन्। घटनाको निष्पक्ष छानबिन गर्न माथिल्लो तहबाट स्वतन्त्र र शक्तिशाली छानबिन समिति गठन गर्न उनीहरूले माग गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टी, नेकपा (एमाले) र नेपाली काँग्रेस डोल्पाले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कारागारको सुरक्षा घेराभित्रैबाट आठ जना कैदीबन्दी फरार हुनुले जिल्लाको समग्र सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको जनाएका छन्।
विज्ञप्तिमा २०८३ कात्तिक १४ गते बिहान कारागारको एक ब्लकमा रहेका आठै जना कैदीबन्दी सुरुङ खनेर फरार भएको घटनाले सुरुमा विश्वास गर्न कठिन भए पनि पछि पुष्टि भएको उल्लेख छ। चौबिसै घण्टा नेपाल प्रहरीको प्रत्यक्ष सुरक्षा निगरानीमा रहने कारागारबाट कैदीबन्दी भाग्न सफल हुनुले सुरक्षा कमजोरी, लापरवाही वा सम्भावित मिलेमतोसमेत भएको हुन सक्ने आशंका उत्पन्न गरेको उनीहरूको भनाइ छ।
फरार कैदीबन्दी पुनः आपराधिक गतिविधिमा संलग्न हुन सक्ने त्रास बढेको उल्लेख गर्दै तीन दलले जिल्लाको शान्ति, सुरक्षा र अमनचयनप्रति आमनागरिकको विश्वास कमजोर हुँदै गएको बताएका छन्।
संयुक्त विज्ञप्तिमार्फत फरार कैदीबन्दीबारे कुनै जानकारी वा सुराक प्राप्त भए तत्काल सुरक्षाकर्मीलाई खबर गरी पक्राउ गर्न सहयोग गर्न पार्टीका कार्यकर्ता तथा सर्वसाधारणलाई आग्रह गरिएको छ।
त्यस्तै, घटनाको सत्यतथ्य पत्ता लगाउन माथिल्लो तहबाट स्वतन्त्र र बलियो छानबिन समिति गठन गर्न, दोषी देखिने व्यक्तिलाई आवश्यक कारबाही गर्न तथा जिल्लाको शान्ति सुरक्षालाई मजबुत र भरोसायोग्य बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
संयुक्त प्रेस विज्ञप्तिमा नेपाली कम्युनिष्ट पार्टी डोल्पाका सहसंयोजक बबि किशोर गुरुङ, नेकपा (एमाले) डोल्पाका अध्यक्ष लंकबहादुर रोकाया र नेपाली काँग्रेस डोल्पाका सचिव हिक्मतबहादुर शाहीले हस्ताक्षर गरेका छन्।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्