मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक ८ , शनिबार

बाला त्रिपुरासुन्दरी भगवती मन्दिरमा ५२ हाते लिङ्गा ठड्याइयो, नयाँ ध्वजा फेरियो


विष्णुप्रसाद देवकोटा
डोल्पा । डोल्पाको प्रसिद्ध शक्तिपीठ श्रीबालात्रिपुरासुन्दरी योगमाया भगवती मन्दिरमा विजयादशमीअन्तर्गत असोज शुक्ल अष्टमीका दिन ५२ हाते लिङ्गा ठड्याउनुका साथै नयाँ ध्वजा फेरिएको छ।
भगवती, गुरु चण्डिका र विक्रमशाही महाराजका नाममा विधिपूर्वक पूजाआजा गर्दै मन्दिरमा चारवटा लिङ्गा ठड्याउने कार्य सम्पन्न भएको हो। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस मन्दिरमा प्रत्येक वर्ष चैते अष्टमी र बडादसैँको अष्टमीका दिन लिङ्गा ठड्याउने तथा ध्वजा फेर्ने परम्परा रहिआएको छ। सोही परम्पराअनुसार प्रत्येक छ महिनाको अन्तरालमा वर्षमा दुईपटक लिङ्गा तथा ध्वजा परिवर्तन गरिन्छ।
करिब ५२ हात अर्थात् २६ मिटर लामा काठका लिङ्गा ठुलीभेरी नगरपालिकाको जुफाल तथा त्रिपुरासुन्दरी नगरपालिकाका सुँ, रङ, लिकु र पहाडा क्षेत्रका बासिन्दाले पालैपालो मन्दिरमा ल्याउने गर्छन्। पुस्तौँदेखि चलिआएको यस परम्पराले विभिन्न बस्तीका बासिन्दालाई धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामुदायिक सहभागिताको सूत्रमा जोड्दै आएको छ।
अष्टमीको राति १२ बजे मन्दिरमा कालरात्रिको विशेष पूजाआजा गरी राँगा तथा बोकाको बलि दिने प्रचलन छ। नवरात्रका अवसरमा मन्दिर परिसरमा स्थानीय भेषभूषा र मौलिक संस्कृति झल्कने नृत्य, भगवती नाचलगायत सांस्कृतिक प्रस्तुति पनि गरिने मन्दिर ब्यवस्थापन समितिले जनमएकाे छ।

यसले धार्मिक अनुष्ठानसँगै डोल्पाको मौलिक कला र संस्कृतिलाई उजागर गर्दै आएको छ।
यस अवसरमा मन्दिरमा मात्र नभई घरघरमा स्थापना गरिएका जमरा थलामा समेत परम्परागत विधिअनुसार पूजा गरी बोका तथा कुष्माण्ड (फर्सी) लगायतको बलि दिने चलन छ। धार्मिक विधि, पूजाआजा र सांस्कृतिक प्रस्तुतिसहित मनाइने दसैँले स्थानीय समुदायमा धार्मिक आस्था र सांस्कृतिक निरन्तरतालाई थप बलियो बनाउँदै आएको छ।
शक्तिपीठका रूपमा परिचित श्रीबालात्रिपुरासुन्दरी योगमाया भगवती मन्दिरमा दसैँका अवसरमा गरिने विशेष पूजाआजा, ५२ हाते लिङ्गा ठड्याउने र नयाँ ध्वजा फेर्ने परम्परा डोल्पाको विशिष्ट धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा रहेको छ। पुस्तौँदेखि निरन्तरता पाउँदै आएको यस परम्पराले जिल्लाको मौलिक पहिचान र सांस्कृतिक धरोहरलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको स्थानीय बयाेबृद्द रविप्रसाद न्याैपानेले बताए।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्