
विष्णुप्रसाद देवकोटा
डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले पाँचौँ मेयर कप भलिबल तथा ब्याडमिन्टन प्रतियोगिताको पुरस्कार राशि संशोधन गरेको छ। नगर कार्यपालिकाको असोज २९ गतेको निर्णयअनुसार जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउने भएका छन्।
नगरपालिकाले यसअघि असोज २० गते प्रकाशित सूचनामा केही संशोधन गर्दै नयाँ पुरस्कार राशि र प्रतियोगितासम्बन्धी विवरण सार्वजनिक गरेको हो।
संशोधित सूचनाअनुसार पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले दुई लाख, द्वितीयले एक लाख ५० हजार, तृतीयले एक लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र अनुशासित खेलाडीलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिनेछ।
त्यसैगरी, ब्याडमिन्टन डबल्स प्रतियोगितामा प्रथम हुने जोडीले २० हजार, द्वितीयले १५ हजार र तृतीयले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
त्रिपुरासुन्दरी नगरपालिका–१, बगरमा आयोजना हुने प्रतियोगिताका लागि असोज ७ देखि कात्तिक १० गतेसम्म टोली दर्ता गर्न सकिने सूचनामा उल्लेख छ। प्रतियोगिता कात्तिक ११ गतेदेखि सुरु हुनेछ।
भलिबलतर्फ टोली दर्ता शुल्क १४ हजार रुपैयाँ र ब्याडमिन्टनतर्फ दुई हजार रुपैयाँ तोकिएको छ। प्रतियोगितामा सहभागी हुने खेलाडी जिल्ला निवासी हुनुपर्नेछ। खेलाडीले टोली दर्ता गर्दा आवश्यक कागजात पेस गर्नुपर्ने र खानाको व्यवस्था स्वयं खेलाडीले गर्नुपर्ने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले प्रतियोगितालाई व्यवस्थित बनाउन पुरस्कार वितरणसम्बन्धी नियम पालना गरिने पनि स्पष्ट पारेको छ।
प्रतियोगितासम्बन्धी थप जानकारीका लागि हेमन्त शाही, नवीनकुमार शाही र रमेश बीसीलाई सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।







