मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १९ , बुधबार

उपभोक्ताको ५० प्रतिशत लागत साझेदारीमा त्रिपुराकोट गल्ली खानेपानी योजना मर्मत हुँदै


विष्णुप्रसाद देवकोटा
डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटस्थित गल्ली बृहत् खानेपानी तथा सरसफाइ योजनाको मर्मत कार्य उपभोक्ताको ५० प्रतिशत लागत साझेदारीमा सञ्चालन हुने भएको छ। मर्मत कार्य सुरु गर्नुअघि उपभोक्ताको प्रतिबद्धता, सहभागिता र अपनत्व सुनिश्चित गर्ने उद्देश्यले प्रारम्भिक सार्वजनिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
त्रिपुरासुन्दरी नगरपालिकाको दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना (सुस्वा) को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त योजनाको कुल लागत १३ लाख १४ हजार ८८० रुपैयाँ रहेको छ। कुल लागतको ५० प्रतिशत रकम स्थानीय उपभोक्ताले श्रमदानसहित व्यहोर्नेछन् भने बाँकी ५० प्रतिशत परियोजनाले उपलब्ध गराउनेछ।
योजना सञ्चालनपूर्व आयोजना गरिएको सार्वजनिक सुनुवाइमा प्रस्तावित मर्मत कार्य, लागत अनुमान, उपभोक्ताको आर्थिक तथा श्रमदानमा सहभागिता, निर्माण प्रक्रिया र योजनाको दिगोपनबारे जानकारी गराइएको थियो। साथै मर्मत कार्य सम्पन्न भएपछि योजनाको नियमित संरक्षण तथा सञ्चालनमा उपभोक्ताको जिम्मेवारीबारे समेत छलफल गरिएको थियो।
कार्यक्रममा सुस्वा परियोजनाका नगर कार्यक्रम संयोजक धनप्रसाद बुढाले योजनाको डिजाइन, लागत अनुमान तथा सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको जानकारी दिँदै मर्मत कार्यको प्रकृति, उपभोक्ताको लागत साझेदारी, श्रमदान, निर्माण अवधि तथा नगरपालिकाबाट उपलब्ध हुने आर्थिक र प्राविधिक सहयोगबारे स्पष्ट पार्न प्रारम्भिक सार्वजनिक सुनुवाइ आयोजना गरिएको बताए।
त्रिपुराकोट गल्ली बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष नन्दबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश रावतले स्वच्छ, सफा तथा सुरक्षित खानेपानी समुदायलाई उपलब्ध गराउने उद्देश्यले योजनालाई प्राथमिकतामा राखिएको बताए। उनले पानीकै कारण झाडापखालालगायतका पानीजन्य रोग फैलिन नदिन कोलोरिनयुक्त पानीलाई शुद्धीकरण गरी उमाल्न नपर्ने गरी उपभोक्तासम्म पुर्‍याउने लक्ष्य रहेको उल्लेख गरे।त्रिपुरासुन्दरी वास युनिटमा कार्यरत प्राविधिक दानबहादुर थापाले मर्मत याेजनाकाे प्राविधिक पक्ष लागत स्थानीयकाे याेगदान खानेपानी मुहानमा बन्ने रिजर्भ ट्याङकीकाे स्वरुप भुगाेल लगायतका विषयमा जानकारी गराएका थिए ।याेजना मर्मत कार्य मंसिरबाट शुरु गरेर पुसकाे पहिलाे सातामा सम्पन्न गर्नमा र पचास प्रतिशत जनश्रमदान सहितकाे याेगदान गर्न उपभोक्ता तयार रहेकाे प्रतिबद्धता त्रिपुराकाेट गाउँ मुखिया टिकादत्त न्याैपानेले ब्यक्त गरेका थिए ।
कार्यक्रममा सुस्वा परियोजनाका नगर कार्यक्रम संयोजक धनप्रसाद बुढा र त्रिपुराकोट गाउँ मुखिया टिकादत्त न्यौपानेको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा योजनाका सम्पूर्ण लाभग्राही तथा उपभोक्ताको सहभागिता थियो।
सार्वजनिक सुनुवाइमा उपभोक्ताको ५० प्रतिशत लागत साझेदारी र श्रमदानलाई योजनाप्रतिको अपनत्व तथा दिगोपनसँग जोड्दै मर्मत कार्य सम्पन्न भएपछि पनि नियमित मर्मतसम्भार, संरक्षण र व्यवस्थित सञ्चालनमा स्थानीय उपभोक्ताको सक्रिय भूमिका आवश्यक हुनेमा जोड दिइएको थियो।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्