विष्णुप्रसाद देवकोटा
डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–त्रिपुराकोट बगरबजारस्थित खेलकुद मैदानमा प्रथम त्रिपुरासुन्दरी धार्मिक, सांस्कृतिक, पर्यटन तथा होटल प्रवर्द्धन महोत्सव सुरु भएको छ।
स्थानीय कला, संस्कृति र मौलिक पहिचानको संरक्षणसँगै धार्मिक पर्यटन तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
महोत्सवको उद्घाटन त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकाया र नेकपा एमालेका केन्द्रीय सदस्य तथा डोल्पा जिल्ला इन्चार्ज एवं कर्णाली प्रदेशका पूर्व सांसद बदमी बोहोराले संयुक्त रूपमा ब्यानर खोलेर गर्नुभयो।
उद्घाटन समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा विभिन्न राजनीतिक दलका प्रमुख र प्रतिनिधिहरूले महोत्सवले डोल्पाको धार्मिक तथा सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य, मौलिक भेषभूषा र स्थानीय उत्पादनको प्रचारप्रसारमा योगदान पुर्याउने अपेक्षा व्यक्त गरे।
स्थानीय कलाकारको प्रतिभा उजागर गर्न तथा मौलिक कला–संस्कृतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न पनि महोत्सव उपयोगी हुने उनीहरूको भनाइ थियो।
महोत्सवमा लोकसम्राट् राजु परियार, लोकगायक रामजी खाँड, लोकगायिका ज्योति मगर, टीका सानु, विपना सिंलगायत राष्ट्रियस्तरमा चर्चित कलाकार तथा नृत्याङ्गनाहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ। लोकदोहोरी, सांस्कृतिक कार्यक्रम, स्थानीय मौलिक नाचगान, लोककला, भेषभूषा तथा स्थानीय प्रतिभाका प्रस्तुतिले महोत्सवलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
महोत्सव आयोजक समितिका संयोजक तथा स्थानीय युवा–बुद्धिजीवी खेमबहादुर बुढाले महोत्सव आर्थिक लाभका लागि मात्र नभई समग्र डोल्पाको विविधता, सम्भावना र पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले आयोजना गरिएको बताउनुभयो।
उहाँले महोत्सवलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिने योजना रहेको उल्लेख गर्दै यसको सफलताका लागि सबै पक्षबाट सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा गर्नुभयो।
धार्मिक तथा प्राकृतिक सम्पदाले समृद्ध डोल्पामा यस्ता महोत्सवले पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, होटल तथा पर्यटन व्यवसायको विकास र स्थानीय कलाकारको प्रोत्साहनमा टेवा पुर्याउन सक्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउन र जिल्लाको सांस्कृतिक पहिचानलाई थप उजागर गर्न पनि महोत्सवले भूमिका खेल्ने विश्वास गरिएको छ।
महोत्सवको प्रचारप्रसारका लागि खबरदिशा डटकम, फोक्सुण्डो खबर, साझा कर्णाली, रंगीन पाटी र कान्जिरोवा पोस्टलगायतका अनलाइन समाचार पोर्टल मिडिया साझेदारका रूपमा रहेका छन्।
महोत्सव कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा उदाउँदा सर्जक तथा मधुर स्वरका धनी गायक रतन शाहीले कार्यक्रम सञ्चालनको जिम्मेवारी सम्हाल्नेछन्।





