मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , आइतबार

कारागारभित्रै चरेस पुर्‍याउने प्रयास, सुरक्षा व्यवस्थामाथि उठ्याे प्रश्न

लागूऔषधकाे अखडा डाेल्पा कारागार:तीन महिला पक्राउ 


खबरदिशा डेक्स
डोल्पा । कैदीबन्दीलाई सुधार्ने र अपराध नियन्त्रण गर्ने जिम्मेवारी बोकेको डोल्पा जिल्ला कारागार नै लागूऔषध ओसारपसारको माध्यम बन्न थालेको घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि गहिरो प्रश्न उठाएको छ। कारागारभित्र चरेसजस्तो पदार्थ पुर्‍याउने घटनामा एक कर्मचारी पक्राउ परिसकेको अवस्थामा प्रहरीले थप तीन जना महिलालाई पक्राउ गरेपछि घटनाको जालो थप फैलिएको प्रस्ट्याएकाे छ।
कात्तिक २१ गते त्रिपुरासुन्दरी नगरपालिका–३ निवासी अन्दाजी २० वर्षीया सुन बुढा बोहरा वडानम्वर ४ निवासी ३० वर्षीया कमला बुढा र २५ वर्षीया सम्झना बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागार दुनैमा कार्यरत ३३ वर्षीय कार्यालय सहयोगी कमलबहादुर शाहीबाट कात्तिक ४ गते कारागार परिसर भित्रै चरेस जस्तो देखिने पदार्थ २ ग्राम ६१९ मिलिग्राम र घरेलु मदिरा बनाउन प्रयोग हुने मर्चा जस्तो धुलो २ ग्राम ०८८ मिलिग्राम प्रहरीले बरामद गरेकाे थियो।
उक्त घटनाको अनुसन्धानका क्रममा थप संलग्नता देखिएपछि तीन महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विनयकुमार सिंहले जानकारी दिए।
कारागारभित्र लागूऔषध पुर्‍याउने प्रयासमा कर्मचारीकै संलग्नता देखिनु र त्यसपछि थप तीन महिला पक्राउ पर्नुले कारागारको आन्तरिक निगरानी, प्रवेशद्वारको चेकजाँच तथा सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न खडा गरेको छ।
कारागार परिसरभित्र निषेधित पदार्थ कसरी पुग्न खोज्यो? यसमा अरू कसको संलग्नता छ? नियमित सुरक्षा जाँच र निगरानीको जिम्मेवारी पाएको कारागार प्रशासन यसबारे कति जानकार थियो? यी प्रश्नको जवाफ अनुसन्धानबाट खुल्न बाँकी छ।
घटनाले कारागारको सुरक्षा व्यवस्था मात्र होइन, कारागार प्रशासनको निगरानी र जवाफदेहिता माथि समेत गहिरो समीक्षा आवश्यक देखाएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्