मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १७ , सोमबार

त्रिपुरासुन्दरीमा दुई वर्षदेखि थन्किएको ९ लाखको घुम्ती शौचालय बल्ल सञ्चालनमा


विष्णुप्रसाद देवकोटा
डोल्पा । त्रिपुरासुन्दरी नगरपालिकाले झण्डै दुई वर्षदेखि कार्यालयको प्रवेशद्वारमै थन्क्याएर राखेको घुम्ती शौचालय बल्ल सञ्चालनमा ल्याएको छ। सार्वजनिक प्रयोगका लागि ९ लाख रुपैयाँ खर्चेर खरिद गरिएको शौचालय लामो समयसम्म प्रयोगविहीन बनेपछि नगरपालिकाको लगानी र कार्यशैलीमाथि नागरिकस्तरबाट प्रश्न उठ्दै आएको थियो।
सार्वजनिक सेवा दिने उद्देश्यले खरिद गरिएको शौचालय प्रयोगमा नल्याई कार्यालय गेटमै थन्क्याइएको थियो। समय बित्दै जाँदा खिया लागेर जीर्ण बन्दै गएको शौचालयको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेपछि लगानीको औचित्यमाथि थप प्रश्न उठेका थिए।
नगरपालिकाको मुकाम बगर बजार र भैरवी कोटखौला क्षेत्रमा सार्वजनिक शौचालयको अभाव हुँदा सर्वसाधारणले दैनिक सास्ती खेप्दै आएका छन्। ठूलो सङ्ख्यामा सवारीसाधन र यात्रुको आवतजावत हुने क्षेत्रमा शौचालय नहुँदा यात्रु होटल धाउन बाध्य छन्। तर, कतिपय होटल सञ्चालकले शौच गर्नसमेत नदिने गरेको स्थानीय भक्तसिंह कठायतको गुनासो छ।
यस्तो अवस्थामा सार्वजनिक प्रयोगका लागि खरिद गरिएको शौचालय नगरपालिकाकै प्रवेशद्वारमा थन्किनुले स्थानीय सरकारको प्राथमिकता र योजना निर्माणमाथि प्रश्न उठाएको थियो।
हाल नगरपालिकाले कार्यालय परिसरमा खेलमैदान निर्माण गरी पाँचौँ मेयर कप प्रतियोगिता सञ्चालन गरिरहेको अवसरमा खेलाडी, दर्शक तथा सर्वसाधारणको भीडलाई लक्षित गर्दै शौचालय सञ्चालनमा ल्याएको हो।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले भीडभाड र मेला महोत्सवलाई मध्यनजर गर्दै शौचालय सञ्चालन गरिएको बताए। उनका अनुसार खेलकुद प्रतियोगिता, नगरसभा तथा अन्य ठूला कार्यक्रम कार्यालय परिसरमा हुँदा नगरपालिकामै र अन्य समयमा बगर बजार, खेलमैदान लगायत बजार क्षेत्रमा शौचालय सञ्चालन गरिनेछ।
सामाजिकस्तरबाट चर्को विरोध भएपछि नगरप्रमुख जनचन्द्र रोकायाले त्रिपुराकोटको हाटबजार तथा खेलकुद मैदान क्षेत्रमा स्थान व्यवस्थापन गरी शौचालय सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए।
काठमाडौंस्थित यन्त्र मेकर्श प्रालिले निर्माण गरेको उक्त घुम्ती शौचालयमा एकैपटक तीन पुरुष र तीन महिलाले प्रयोग गर्न सक्ने क्षमता छ। मेला, महोत्सव तथा सार्वजनिक कार्यक्रममा उपयोगी मानिने संरचना आवश्यक स्थान र सञ्चालन व्यवस्थापनको अभावमा लामो समय प्रयोग विहीन बनेको थियो।
उद्योग व्यापार संघका पूर्णकेशर न्यौपानेले शौचालय सञ्चालनमा आउनु सकारात्मक भए पनि यसको सञ्चालन स्थल र निरन्तरताले नै प्रभावकारिता निर्धारण गर्ने बताए। उनका अनुसार आवश्यकता, स्थान व्यवस्थापन र दीर्घकालीन सञ्चालनको स्पष्ट योजना बिना खरिद गरिएको संरचना लामो समय थन्किनु आफैँमा सार्वजनिक लगानी व्यवस्थापनको कमजोरी हो।
झण्डै दुई वर्षपछि शौचालय सञ्चालनमा आउनु सकारात्मक भए पनि अब प्रश्न यसको सञ्चालन कहाँ र कसरी हुन्छ भन्ने हो। ९ लाख रुपैयाँ खर्चेर खरिद गरिएको सार्वजनिक संरचना केही दिनको भीड व्यवस्थापनमा मात्र सीमित हुन्छ वा नागरिकको नियमित आवश्यकतामा उपयोगी बन्छ भन्ने कुरा नगरपालिकाको कार्ययोजना र निरन्तरताले तय गर्नेछ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्