मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक ९ , आइतबार

डोल्पामा पनि प्रहरीको ७१औँ स्थापना दिवस : नागरिक सुरक्षामा समर्पित प्रहरीलाई सम्मान

विष्णुप्रसाद देवकोटा
डोल्पा । ‘विपद्मा सारथि, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नारासहित जिल्ला प्रहरी कार्यालय डोल्पाले नेपाल प्रहरीको ७१औँ स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अवसरमा विजयादशमी २०८३ को शुभकामना आदानप्रदान तथा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मानसमेत गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले दुर्गम भूगोल, प्रतिकूल मौसम र छरिएर रहेका बस्तीका कारण डोल्पामा शान्ति सुरक्षा कायम गर्नु चुनौतीपूर्ण रहेको बताइन्। न्यून स्रोतसाधनका बाबजुद जिल्लाका कुनाकन्दरासम्म पुगेर नागरिकको जीउधनको सुरक्षामा खटिएका प्रहरी जवानदेखि अधिकृतसम्मको कार्यकुशलता प्रशंसनीय रहेको उनको भनाइ थियो।
‘डोल्पामा सेवा गर्नु आफैँमा चुनौतीपूर्ण छ। यहाँको कठिन भूगोल, प्रतिकूल मौसम र दुर्गम बस्तीमा शान्ति सुरक्षा प्रदान गर्न सामान्य कर्तव्य निर्वाहले मात्र पुग्दैन, उच्च साहस, धैर्य र राष्ट्रप्रतिको अगाध प्रेम आवश्यक पर्छ,’ उनले भनिन्।
प्रमुख जिल्ला अधिकारी ढकालले शान्ति सुरक्षा कायम राख्न स्थानीय समुदायसँगको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिँदै लागूऔषधलगायतका चुनौती सामना गर्न प्रहरी र नागरिकबीच सहकार्य आवश्यक रहेको बताइन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अनिलराज गिरीले अग्रज तथा पुर्खाले स्थापित गरेको गौरवपूर्ण परम्परालाई आत्मसात् गर्दै नेपाल प्रहरी इमानदारी, कर्तव्यनिष्ठा र निर्भीकताका साथ राष्ट्र तथा नागरिकको सेवामा निरन्तर समर्पित रहेको बताए।
उनले नेपाल प्रहरीको संस्थागत विकास, क्षमता अभिवृद्धि र सेवा सुदृढीकरणमा नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकार र आम नागरिकबाट प्राप्त सहयोग एवं समन्वय महत्त्वपूर्ण रहेको उल्लेख गरे।

सीमित स्रोतसाधनका बाबजुद प्रहरी शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताउँदै उनले नागरिकमैत्री सुरक्षा सेवा प्रभावकारी बनाउन सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको धारणा राखे।
स्थापना दिवसका अवसरमा राष्ट्रसेवामा समर्पित भई ज्यान गुमाएका पूर्वप्रहरी तथा प्रहरी सदस्यहरूको योगदानको स्मरण गरिएको थियो।

साथै, जिल्ला प्रहरी कार्यालय र मातहतका विभिन्न प्रहरी एकाइमा कार्यरत रही उत्कृष्ट सेवा प्रदान गर्ने प्रहरी जवान तथा अधिकृतहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल, प्रहरी नायव उपरीक्षक अनिलराज गिरी, राष्ट्रिय अनुसन्धान प्रमुख सन्तोष ओझा, संग्राम शार्दूल गुल्म सुलिगाडका मेजर नरेश विष्ट तथा सशस्त्र प्रहरी बल दुनै गुल्मका प्रहरी नायव उपरीक्षक प्रमोद राय यादव लगायतले सम्मान तथा पुरस्कार वितरण गरेका थिए।
कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक प्रमोद राय यादव, राष्ट्रिय अनुसन्धान प्रमुख सन्तोष ओझा, जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। स्थापना दिवसकै अवसरमा विजयादशमीको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, सहकार्य र नागरिक सुरक्षाप्रतिको प्रतिबद्धता व्यक्त गरिएको थियो।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्