मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १८ , मंगलबार

डाेल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिमबाट पक्राउ

डाेल्पा — कारागारबाट फरार दुई कैदी रुकुम पश्चिमबाट पक्राउ परेका छन। गत कात्तिक १४ गते बिहान ६ बजे डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट फरार भएका आठ कैदीबन्दीमध्ये दुई जनालाई पक्राउ परेका हुन ।
मंगलबार बिहान करिब साढे १० बजे चौरजहारी बेस क्याम्प र प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना छन्। दुवै जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन् ।
आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोली बगरबाट वडा नं. ९ राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिप जाँच गर्ने क्रममा भाग्न खोजेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। यसैबीच कारागारमा सुरुङ बनाई कैदी भागेको घटनाबारे छानबिन गर्न डीआईजी र केन्द्रीय टोली डोल्पामा पुगेकाे छ ।हेडक्वार्टरको टोलीको नेतृत्व नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत (हाल नेपालगंज)का प्रहरी वरिष्ठ उपरीक्षक राजिवबहादुर बस्नेतले गरेका छन् ।
‘प्रहरी बरिस्ठ उपरीक्षक बस्नेतकाे नेतृत्वमा ५ सदस्यीय टाेली डाेल्पा पुगेकाे हाे प्रहरी नायव उपरीक्षक अनिलराज गिरीले बताए ।
उनका अनुसार, हेडक्वार्टरबाट ३ जना रहेका छन् भने एक जना कर्णाली प्रदेश प्रहरी कार्यालयबाट टोलीमा समावेश छन् ।
शुक्रबार राति ५ जना जबर्जस्ती करणी र ३ जना चोरी मुद्दाका कैदीले करिब ४ मिटर लामो सुरुङ खनेर भागेका थिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्