
विष्णुप्रसाद देवकोटा
डोल्पा । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ दानिगाडमा हिमपात कारण फसेका ६ जना भारतीय पर्यटकको आज हेलिकप्टरबाट उद्धार भइरहेको छ।
जिल्ला प्रशासन कार्यालय डोल्पाले आइतबार जारी गरेको सूचनाअनुसार केही दिनदेखिको भारी हिमपातका कारण पर्यटकहरू दानिगाड क्षेत्रमा फसेका थिए।
उद्धार गरिएका पर्यटकहरूमा मौमिता हल्दर, पियाली कोले, जाजला त्रिवेद कुमार, आदित्य सिंह, दिप्लिना विश्वास र राजेश डे रहेका छन्।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले दिएकाे जानकारी अनुसार उनीहरूको हेलिकप्टरबाट उद्धार भइरहेको छ।
यसैबीच, प्रतिकूल मौसमका कारण थप जोखिम सिर्जना हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले जिल्लावासी तथा पर्यटकलाई सतर्क र सुरक्षित रहन आग्रह गरेको छ।










