विष्णुप्रसाद देवकोटा
डोल्पा । पाँचौँ मेयर कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि घरेलु टोली त्रिपुरासुन्दरी नगरपालिका–१ र मुड्केचुला गाउँपालिकाको टोलीबीच भिडन्त हुने भएको छ।
मंगलबार सम्पन्न रोमाञ्चक सेमिफाइनल प्रतिस्पर्धामा आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै दुवै टोलीले उपाधि नजिकको यात्रा तय गरेका हुन्।
पहिलो सेमिफाइनलमा त्रिपुरासुन्दरी–१ ले आफ्नै नगरपालिकाको वडा नं. ८ को टोलीलाई पराजित गर्दै फाइनलमा स्थान बनायो। दोस्रो सेमिफाइनलमा मुड्केचुलाले ठूलीभेरी नगरपालिकाको यार्सा स्पोर्ट्स क्लब माझफाललाई हराउँदै उपाधि भिडन्तका लागि घरेलु टोलीसँगको भेट पक्का गर्यो।
अब बुधबार बिहान हुने फाइनलले पाँचौँ मेयर कपको नयाँ विजेता निर्धारण गर्नेछ। तेर्साे र चाैथाे स्थानकाे का लागि यार्सा स्पाेर्ट क्लब ठुलिभेरी र वडानम्वर ८ त्रिपुरासुन्दरी बीच प्रतिस्पर्धा हुने छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. हेमन्त शाहीका अनुसार बुधबार नै प्रतियोगिताको समापन समेत गरिनेछ।
प्रतियोगिताको उपाधि विजेताले दुई लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा उपविजेताले एक लाख ५० हजार, तृतीय हुने टोलीले एक लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ पाउनेछन्।
त्यस्तै, उत्कृष्ट खेलाडीलाई सात हजार तथा उत्कृष्ट स्पाइकर र अनुशासित खेलाडीलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
उपाधि कसले उचाल्ने भन्ने कौतूहलता बीच नगरपालिकाले फाइनल तथा समापन समारोहमा
उपस्थितिका लागि सरोकारवाला निकाय, खेलप्रेमी र स्थानीयवासीलाई आमन्त्रण समेत गरेको छ।











