मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १६ , आइतबार

उपल्लो डोल्पामा पशुसेवा कार्यक्रमको अनुगमन :अनुदान वितरण र कार्यान्वयनमा कडाइ

विष्णुप्रसाद देवकोटा

डाेल्पा,असार १८ गते ।सरकारबाट लक्षित वर्गका लागि सञ्चालित पशु सेवा कार्यक्रमहरू उपल्लो डोल्पामा प्रभावकारी रूपमा कार्यान्वयन भएका छन् वा छैनन् भन्ने मूल्यांकन गर्न पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाले कडाइका साथ अनुगमन थालेको छ।

कार्यालय प्रमुख डा. साजन रोकायाको नेतृत्वमा याेजना अधिकृत अक्कल बहादुर सिजवाल सहितको प्राविधिक टोलीले शे–फोक्सुण्डो गाउँपालिका–३ साल्दाङ र डोल्पो बुद्ध गाउँपालिकाको तिन्जे क्षेत्रका विभिन्न कार्यक्रम स्थलको स्थलगत निरीक्षण गरेको हो।

साल्दाङमा सञ्चालित ‘खोर निर्माण तथा खोर सुधार’ कार्यक्रम तथा तिन्जेमा लक्षित वर्गका लागि नश्ल सुधार योजनाअन्तर्गत वितरण गरिएका बाख्राको अवस्था अनुगमन गरियो।

पछिल्लो समय डोल्पामा देखिएको राजनीतिक पहुँच र दबावका आधारमा अनुदान तथा कार्यक्रमहरू केन्द्रित गर्ने प्रवृत्तिले वास्तविक लाभग्राहीलाई छुटाउने र गैरलाभग्राहीले कार्यक्रम देखाएर अनुदान भित्र्याउने जस्ता विकृति बढ्न थालेपछि सरोकारवाला निकायहरूले अनुगमन र निगरानीमा कडाइ गर्न थालेका हुन्।

कार्यक्रमको प्रभावकारिता, पारदर्शिता र बजेटको सदुपयोग सुनिश्चित गर्ने उद्देश्यका साथ गरिएको यो अनुगमनले आगामी दिनमा सुधारात्मक पहलका लागि मार्गचित्र तय गर्ने कार्यालयले जनाएको छ।

लक्षित वर्गसम्म सरकारी अनुदान प्रभावकारी रूपमा पुगोस् भन्ने सुनिश्चितता,अनुदानको नाममा भइरहेको दुरुपयोग नियन्त्रण,पहुँचका भरमा नभई वास्तविक आवश्यकताको आधारमा कार्यक्रम वितरण सुनिश्चित गर्नु,पशु स्वास्थ्य तथा उत्पादन सुधारमा प्रत्यक्ष फाइदा पुग्ने वातावरण सिर्जना गर्नु कार्यक्रमकाे उदेश्य रहेकाे कार्यालय प्रमुख डाक्टर राेकायाले जानकारी दिनु भयाे ।पारदर्शिता र जवाफदेहिताको दृष्टिकोणले  अनुगमनलाई डोल्पामा   महत्त्वपूर्ण रुपमा लिने गरिएकाे छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्