विष्णुप्रसाद देवकोटा
डोल्पा । जिल्ला कारागार डोल्पामै प्रतिबन्धित पदार्थ ओसारपसार हुने गरेकाे पाइएकाे छ ।बुधवार लागुऔषध चरेसजस्तो देखिने पदार्थ र घरेलु मदिरा बनाउन प्रयोग हुने मर्चा जस्तो कच्चा पदार्थसहित दुई जना पक्राउ परेपछि याे रहस्य खुलेकाे हाे।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार असोज ४ गते बिहान करिब १०ः१५ बजे कारागार कार्यालयको सुरक्षार्थ खटिएको प्रहरी टोलीले कारागारमा उपलब्ध सामग्री जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको हो।
कारागारमा कार्यरत कार्यालय सहयोगी कमलबहादुर शाहीले ल्याएको प्लास्टिकको बोराभित्र रहेका सामग्री जाँच गर्दा सिमीको दाल, पिठो, खुर्सानी, स्याउ र पाउरोटी लगायत सामग्री भेटिएका थिए। सोही क्रममा पाउरोटीको प्याकेटभित्र लुकाइछिपाइ राखिएको चरेसजस्तो देखिने २ ग्राम ६९१ मिलिग्राम पदार्थ र घरेलु मदिरा बनाउन प्रयोग हुने मर्चाजस्तो देखिने २ ग्राम ८८ मिलिग्राम कच्चा पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा डोल्पाको ठूलीभेरी नगरपालिका–६, जुफाल निवासी ३३ वर्षीय कमलबहादुर शाही र ठूलीभेरी नगरपालिका–३, दुनै निवासी ३५ वर्षीय यातायात ब्यवसायी हिमाल घर्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार दुवै जनामाथि थप अनुसन्धान भइरहेको सुचना अधिकारी प्रहरी निरीक्षक विनयकुमार सिंहले जानकारी दिए।







