मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक ८ , शनिबार

१२ वर्षपछि जगदुल्ला तालमा बोन मेला, आस्था र संस्कृतिको पुनर्जागरण

विष्णुप्रसाद देवकोटा
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–१ स्थित उच्च हिमाली क्षेत्रमा १२ वर्षपछि आयोजित जगदुल्ला तालको बोन मेला तथा तीर्थयात्रा सोमबार सम्पन्न भएको छ। धार्मिक अनुष्ठान, धर्मगुरुहरूको उपस्थिति र मौलिक सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न मेलाले हिमाली क्षेत्रको धार्मिक आस्था, सांस्कृतिक विरासत र प्राकृतिक पहिचानलाई उजागर गरेको छ।
यस वर्षको तीर्थयात्रामा गाउँपालिका अध्यक्ष नारसिंह रोकाय, ८२ वर्षीय धर्मगुरु गेशे तेन्जिन ङिमा होइजेर रिन्पोछेसहित विभिन्न धर्मगुरु र श्रद्धालुहरूको सहभागिता थियो। कठिन पदमार्ग र सीमित सुविधाबीच सम्पन्न यात्राले पुस्तौँदेखि चल्दै आएको धार्मिक परम्परा र लोकविश्वासलाई पुनः जोडेको स्थानीय युवा भास्कर बस्नेतले बताए।
तीर्थयात्राका क्रममा धर्मगुरुबाट धार्मिक तथा आध्यात्मिक सामग्री र पवित्र अवशेषको दर्शन तथा आशीर्वाद ग्रहण गरिएको थियो। स्थानीय धार्मिक मान्यताअनुसार जगदुल्ला क्षेत्र साधना, ध्यान र प्रार्थनासँग सम्बन्धित पवित्र स्थल हो।
तीन हजार आठ सय मिटरमा सांस्कृतिक प्रस्तुति
हुरिकोट आधारभूत विद्यालयको आयोजनामा करिब तीन हजार आठ सय मिटरको उचाइमा लोकनाच, परम्परागत भेषभूषा र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीयवासीको सहभागिताले नयाँ पुस्तालाई मौलिक संस्कृति र परम्परासँग जोड्ने अवसर प्रदान गरेको थियो।
तीर्थयात्राका क्रममा तुङुतुङ पाटनमा बसोबास गर्ने चौँरीगोठालाहरूले धर्मगुरु तथा श्रद्धालुलाई स्वागत गरेका थिए। हिमाली बासिन्दाको आत्मीय व्यवहार र परम्परागत जीवनशैलीले यात्रालाई थप स्मरणीय बनाएको बस्नेतले बताए।
दूध कुण्डदेखि प्रेम तालसम्मका धार्मिक विश्वास
समुद्री सतहबाट करिब चार हजार सात सय मिटरको उचाइमा रहेको जगदुल्ला ताललाई स्थानीय रूपमा ‘जगदुल्ला साचोलिङ’ पनि भनिन्छ। यस क्षेत्रका ताल, हिमशिखर र पर्वतसँग विभिन्न धार्मिक मान्यता तथा लोककथा जोडिएका छन्।
स्थानीय कथनअनुसार दूध कुण्डका रूपमा चिनिएको स्थललाई पछि ‘राक्षस दह’ र मुटुजस्तो आकारका कारण ‘प्रेम ताल’ समेत भन्न थालिएको हो। तालको पानीले शरीर शुद्ध हुने, रोग निको पार्ने र मनोकामना पूरा हुने विश्वास स्थानीय समुदायमा प्रचलित छ।
पर्यटन प्रवर्द्धनको सम्भावना
यार्सागुम्बा मार्ग हुँदै पुगिने जगदुल्ला ताल क्षेत्र हिमाल, विशाल पाटन, नदी, झरना र प्राकृतिक दृश्यका कारण पर्यटकीय सम्भावना बोकेको गन्तव्य हो। धार्मिक महत्वसँगै खस, बोन तथा अन्य स्थानीय समुदायको जीवनशैली र सांस्कृतिक विविधता यहाँका थप आकर्षण हुन्।
गाउँपालिका अध्यक्ष रोकायले जगदुल्लाको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई व्यवस्थित रूपमा अघि बढाउँदै आगामी १२ वर्षे मेलालाई थप भव्य बनाउने प्रतिबद्धता व्यक्त गरे।
१२ वर्षपछि सम्पन्न बोन मेला जगदुल्लाको धार्मिक आस्था र सांस्कृतिक पहिचानको पुनर्मिलन बनेको छ। यस विरासतलाई संरक्षण गर्दै पदमार्ग, पूर्वाधार र पर्यटन प्रवर्द्धनमा जोड दिन सके जगदुल्ला कर्णालीको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्नेछ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्