मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक ८ , शनिबार

डोल्पामा महानवमी : बाला त्रिपुरासुन्दरी मन्दिरमा राँगा र बोकाको बलि

विष्णुप्रसाद देवकोटा
डोल्पा । हिमाली जिल्ला डोल्पामा नवदुर्गा भगवतीको विशेष पूजाआराधना, पशुबलि र धार्मिक मेलासहित महानवमी पर्व मनाइएको छ। आश्विन शुक्ल नवमीका दिन मनाइने यो पर्व यस वर्ष महाअष्टमी दुई दिन परेकाले सोमबार मनाइएको हो।
डोल्पाको प्रसिद्ध शक्तिपीठ श्रीबालात्रिपुरासुन्दरी योगमाया भगवती मन्दिरमा महानवमीका अवसरमा विशेष मेला लागेको थियो। भगवतीको विधिपूर्वक पूजाआराधना गर्नुका साथै राँगा र बोकाको बलि दिइएको थियो। दर्शन तथा पूजाआराधनाका लागि मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति रहेको थियो।
मन्दिर व्यवस्थापन समितिका अनुसार घटस्थापनादेखि महानवमीसम्म १३ वटा राँगा र २५० भन्दा बढी बोकाको बलि दिइएको छ।
महानवमीका दिन घटस्थापनामा स्थापना गरिएको जमरासहित दुर्गा भवानीको पूजा गरिएको थियो। दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गर्दै महाकाली, महालक्ष्मी तथा महासरस्वतीको आराधना गर्ने परम्परा छ।

पशुबलि नदिने तथा शाकाहारी भक्तजनले कुभिण्डो, घिरौँला, मूला, काँक्रो र नरिवललगायत सामग्री प्रतीकात्मक बलिका रूपमा चढाएका थिए।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेको धार्मिक विश्वास छ। नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको पूजा गर्नुका साथै कन्यालाई दुर्गाको प्रतीक मानेर पूजा र दक्षिणा दिने चलनसमेत छ।
राजपरिवारका नाममा बलि दिने परम्परा
बालात्रिपुरासुन्दरी भगवती मन्दिरमा राणाशासनकालदेखि राजामहाराजाको समयसम्म चलिआएको महाअष्टमीको कालरात्रि र महानवमीमा राजपरिवारका नाममा राँगा तथा बोकाको बलि दिने परम्परा अझै कायम छ। नवरात्रको सुरुआत घटस्थापनादेखि नै विभिन्न भाकल पूरा गर्ने उद्देश्यले भक्तजनले बोकाको बलि चढाउने चलनसमेत छ।


डोल्पामा दशमीका दिन विशेष धार्मिक विधिसहित दशैँ समापन गर्ने परम्परा छ। घटस्थापनादेखि नवरात्रभर पूजा गरिएका देवीदेवतासहित भगवतीलाई मुख्य गाथमा विराजमान गराई यज्ञहोम गरिन्छ। त्यसपछि फूलपातीलाई नदीदोभानमा लगी विसर्जन गरेसँगै दशैँको धार्मिक अनुष्ठान सम्पन्न हुने परम्परा रहेको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्