विष्णुप्रसाद देवकोटा
डोल्पा।हिमाली जिल्ला डोल्पाको प्रसिद्ध शक्तिपीठ श्रीबालात्रिपुरासुन्दरी योगमाया भगवती मन्दिरमा विजयादशमीका दिन विशेष पूजाआराधनासहित भगवतीलाई मूलगाथमा विराजमान गराइएको छ। देवीलाई मूलगाथमा विराजमान गराउने धार्मिक विधिसँगै त्रिपुराकोटमा पुर्खौंदेखि चलिआएका मौलिक परम्परा र संस्कारलाई निरन्तरता दिइएको छ।
घटस्थापनाका दिन मूलगाथबाट बाहिर यज्ञकुण्ड गाथमा ल्याएर नवरात्रभर विशेष पूजाआराधना गरिएकी भगवतीलाई विजयादशमीका दिन वैदिक विधि र परम्पराअनुसार पूजा गरी पुनः मूलगाथमा विराजमान गराइएको हो। देवीलाई मूलगाथमा विराजमान गराउने अवसरमा हजारौँ दर्शनार्थीको घुइँचो लागेको थियो। भगवतीको दर्शन गर्न श्रद्धालुहरूबीच तछाडमछाड नै चलेको थियो।
मुख्य पुजारीको घरमा बर्यात जाने मौलिक परम्परा
भगवतीलाई मूलगाथमा विराजमान गराएपछि मुख्य पुजारी नायकको घरमा बर्यात जाने परम्परा यहाँको विशिष्ट धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा जीवित छ। बाजागाजा, सुनको कमण्डलु र टीकाथालीसहित मुख्य पुजारीहरू बर्यातका रूपमा मन्दिरका मुख्य पुजारी नायक टंकप्रसाद उपाध्यायको घरमा पुग्ने गर्छन्।
नायकको घरमा टीका-जमरा लगाउने, नाचगान गर्ने तथा सगुनीको विधि पूरा गरेपछि बर्यात पुनः मन्दिर फर्कने परम्परा छ। धार्मिक आस्था, सामाजिक सद्भाव र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक विरासतलाई जोड्ने यो चलनले त्रिपुराकोटको दशैँलाई थप विशिष्ट बनाएको छ।
फूलपाती विसर्जनसँगै दशैँको अर्को मौलिक विधि
विजयादशमीकै दिन साँझ नवरात्रभर मन्दिरमा चढाइएका फूलपाती र पुष्पगुच्छालाई निशान तथा बाजागाजासहित नदिदोभान अर्थात् त्रिवेणीमा लगेर विसर्जन गर्ने परम्परा छ।
यस अवसरमा त्रिपुराकोटवासीले घरघरमा जमरासँगै राखेका फूलपातीसमेत मन्दिरबाट लगिएको फूलपातीसँगै शङ्खध्वनि गर्दै विसर्जन गर्छन्।
फूलपाती विसर्जनसँगै साँझ परेपछि घरघरमा ज्येष्ठ तथा मान्यजनकहाँ पुगेर टीका-जमरा ग्रहण गर्ने र आशीर्वाद थाप्ने चलन छ। यसरी मन्दिरको धार्मिक विधिदेखि घरपरिवारको आशीर्वादसम्म जोडिएको त्रिपुराकोटको दशैँले स्थानीय मौलिकता र सामाजिक सम्बन्धलाई जीवन्त राखेको छ।
पञ्चाङ्गको साइतभन्दा मन्दिरको परम्परालाई प्राथमिकता
ज्योतिष पञ्चाङ्गअनुसार बिहान १० बजेर ३७ मिनेटमा टीका-जमराको शुभसाइत निर्धारण गरिए पनि त्रिपुराकोटमा भने मन्दिरको पूजाआराधना र धार्मिक विधिअनुसार टीका लगाउने समय तय हुने गरेको छ। यहाँको दशैँ केवल पर्व मनाउने अवसर मात्र नभई आफ्नै धार्मिक मान्यता, परम्परा र सांस्कृतिक पहिचानको निरन्तरता पनि हो।

मन्दिरका पुजारी देविकृष्ण उपाध्यायका अनुसार परापूर्वकालदेखि पुर्खाले स्थापित गरेका रीतिथिति र धार्मिक मान्यताअनुसार बर्यात जाने तथा फूलपाती विसर्जन गर्ने परम्परालाई निरन्तरता दिइँदै आएको छ।
पुर्खाले बसालेका संस्कारलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै आएको त्रिपुरासुन्दरी भगवती मन्दिरको दशैँले धार्मिक आस्थासँगै डोल्पाको मौलिक संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।







