मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १४ , शुक्रबार

खदाङ पुलको विवाद सुल्झाउन प्रशासनको पहल, छलगाड पुलसमेत अन्योलमा


विष्णुप्रसाद देवकोटा
डोल्पा । लामो समयदेखि विवादका कारण रोकिएको डोल्पाको खदाङस्थित भेरी नदीमाथिको पक्की पुल निर्माण अघि बढाउन जिल्ला प्रशासन कार्यालयले पहल थालेको छ। तर स्थानीयको माग, प्राविधिक जटिलता र कानुनी प्रक्रियाका कारण विवादको अन्तिम टुंगो लाग्न भने सकेको छैन।
खदाङ पुलको विवादले त्रिपुरासुन्दरी नगरपालिका–१, कान्छीबजारस्थित भेरी नदीको संगम छलगाड खोलामाथि निर्माण गर्नुपर्ने पक्की पुलसमेत प्रभावित भएको छ। पुल निर्माणको जिम्मा पाएको वाइपी एमआर जेभीले खदाङको काम रोक्ने आधिकारिक पत्र पाएमा भने छलगाड र जाजरकोटको तल्लुबगरस्थित पुल निर्माण कार्यलाई निरन्तरताका अघि बढाउने प्रतिबद्धता जनाएको छ।
पुल निर्माणमा देखिएको विवाद समाधान गर्न जिल्ला प्रशासन कार्यालय डोल्पाको पहलमा खदाङमा सर्वपक्षीय छलफल भएको छ। छलफलमा स्थानीयको माग, पुल निर्माणका लागि प्रस्तावित स्थान, सडकको विद्यमान अवस्था र निर्माण कार्य अघि बढाउने विकल्पबारे चर्चा भएको थियो।
छलफलले स्थानीयको माग यथावत् रहेको निष्कर्ष निकाल्दै सबै सरोकारवालाको चासो सम्बोधन गर्न थप समन्वय, अध्ययन र छलफलमार्फत पुल निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। तर पुलको स्थान परिवर्तन गर्ने वा हालको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार नै निर्माण गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन।
स्थानीय बासिन्दा तथा त्रिपुरासुन्दरी नगरपालिका–५ का वडाध्यक्ष नरबहादुर झाँक्रीले बहुमत बस्ती र समुदायलाई छाडेर निर्माण व्यवसायीलाई सहज हुने गरी कम उपयुक्त भूगोलमा पुलको डीपीआर तयार गरिएको आरोप लगाए। स्थानीयको माग सम्बोधन नभएसम्म निर्माण अघि बढ्न नदिने उनको भनाइ छ।
यता, पुल सेक्टर नम्बर ५ सुर्खेतका योजना प्रमुख देवेन्द्र भट्टराईले प्राविधिक प्रक्रिया पूरा नगरी पुलको स्थान सार्न नसकिने स्पष्ट पारे। उनका अनुसार पुल एक मिटर मात्र नभई एक इन्च सार्नसमेत सम्बन्धित प्राविधिक प्रक्रिया आवश्यक पर्छ।

तत्कालै स्थान परिवर्तन गरेर निर्माण सुरु गर्न सकिने अवस्था नरहेको उनले बताए।प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले स्थानीयको मागअनुसार हालको डीपीआर भएको स्थानमा पुल निर्माण हुने सम्भावना नरहेको विषय उठेको बताइन्।

बस्ती तथा समुदाय छुट्ने विषयमा सम्बन्धित वडा र नगरपालिकाले आधिकारिक पत्र लेखेमा आवश्यक प्रक्रिया र समन्वय अघि बढाउने उनको भनाइ छ।
निर्माण व्यवसायीले खदाङको पुल निर्माण कार्य रोक्ने विषयमा लिखित जानकारी दिएमा छलगाड र तल्लुबगरका पुल निर्माण अघि बढाउने प्रतिबद्धता जनाएको पनि उनले बताइन्।
निर्माण व्यवसायी सागर भट्टराईले पुलको निर्माण प्रक्रिया अघि बढाउन प्राविधिक पक्षसँग थप परामर्श गरिने बताए। अत्यधिक चिसोका कारण कङ्क्रिटको गुणस्तरमा असर पर्न सक्ने र संरचनामा क्षति पुग्न सक्ने जोखिम रहेकाले निर्माणको समय र विधिबारे प्राविधिक परामर्श आवश्यक रहेको उनको भनाइ छ।
छलगाडमा सडक अवरुद्ध नगरी काम गर्न डाइभर्सन निर्माण गर्ने ठाउँसमेत नभएकाले त्यहाँको काम अघि बढाउने विषयमा पुल सेक्टरसँग आन्तरिक छलफल गरिने उनले बताए। उनका अनुसार माघको पहिलो वा दोस्रो साताबाट काम सुरु गर्न सके फागुनभित्र विस्फोटसम्बन्धी काम सम्पन्न गर्ने योजना छ।
तर खदाङको काम रोक्नुपर्ने आधिकारिक पत्र कात्तिक, मङ्सिर वा पुसभित्र प्राप्त हुनुपर्ने निर्माण व्यवसायीको भनाइ छ। अन्यथा काम रोकिएको विषयमा राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यमबाट प्रश्न उठ्न सक्ने उनले बताए।
भेरी करिडोरअन्तर्गत डोल्पाको खदाङ र छलगाड तथा जाजरकोटको तल्लुबगरस्थित भेरी नदीमाथि तीनवटा पक्की पुल निर्माणको जिम्मा वाइपी एमआर जेभी भरतपुर, चितवनले पाएको छ। करिब ३६ करोड रुपैयाँ लागतका यी पुल निर्माण समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।
निर्माण कम्पनीले स्थानीय अवरोध तथा कानुनी अड्चन नआएमा २०८२ असार मसान्तभित्र पुल निर्माण सम्पन्न गर्ने जनाएको थियो। तर २०८३ कात्तिक १३ गतेसम्म पनि खदाङको पुल निर्माण अघि बढ्न सकेको छैन।
तल्लुबगर र खदाङमा अस्थायी बेलिब्रिजबाट सवारी आवागमन भइरहेको छ। तर छलगाडमा बेलिब्रिज नभएकाले पक्की पुल निर्माण नहुँदा यात्रु तथा सवारीसाधनले समस्या भोग्दै आएका छन्।
छलफलमा सम्बन्धित वडाध्यक्ष, स्थानीय बासिन्दा, सुरक्षा निकायका प्रमुख, भेरी करिडोर कार्यालयका प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज र सञ्चारकर्मीको सहभागिता थियो।
अब स्थानीयको माग, प्राविधिक सम्भाव्यता र कानुनी प्रक्रियाबीच सहमति जुटाएर पुल निर्माण अघि बढाउन सम्बन्धित निकायले कस्तो निर्णय लिन्छन याे भने सबैकाे चासाे र प्रतिक्षाकाे विषय बनेकाे छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्