मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १२ , बुधबार

डोल्पाको रुम गाउँमा २७ वर्षदेखिको खानेपानी समस्या समाधान, घरघरमा धारा


विष्णुप्रसाद देवकोटा
डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ स्थित रुम गाउँमा २७ वर्षदेखि झेल्दै आएको खानेपानी समस्या समाधान गर्ने उद्देश्यले रैसेनी खोलादेखि रुम गाउँसम्मको खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएको छ। नगर प्रमुख जनचन्द्र रोकायाले नवनिर्मित खानेपानी धाराको उद्घाटन गरेका छन्।
योजना उद्घाटनसँगै तेस्रो चरणको सार्वजनिक सुनुवाइ तथा लेखापरीक्षण कार्यक्रम समेत सम्पन्न गरिएको छ। योजनाबाट वडानम्वर २ रुम गाउँका १२६ घरधुरी लाभान्वित भएका छन्। घरघरमा निजी धारा, सार्वजनिक धारा र विद्यालयमा खानेपानीको सुविधा विस्तार भएकाे छ।
१३१ धारा, पानी भण्डारणका लागि ट्याङ्की
रैसेनी खाेला खानेपानी योजना अन्तर्गत १२६ घरधुरीमा मिटर जडित निजी धारा निर्माण गरिएका छन्। तीनवटा सार्वजनिक धारा र विद्यालयमा खानेपानीको सुविधा उपलब्ध गराइएको छ। थप पाँच धारा निर्माणाधिन अवस्थामा छन। योजनाको विवरणअनुसार कुल १३१ वटा धारा निर्माण गरिएका छन्।
खानेपानी व्यवस्थापनका लागि मुहान संरक्षण, सङ्कलन कक्ष, वितरण कक्ष, पानी भण्डारण ट्याङ्की, मुख्य तथा वितरण पाइपलाइन र अन्य आवश्यक संरचना निर्माण गरिएका छन्। उपलब्ध संरचनागत विवरणमा एउटा १८ घनमिटर क्षमताको रिजर्भ ट्याङ्की निर्माण गरिएको सम्बद्घ पक्षले जनाएकाे छ।मुहान मुख्य ट्याङकी देखि सहायक रिजर्भ ट्याङकी वितरण लाइन सम्मका पुर्वाधारहरुकाे नगरउपप्रमुख देवी घर्तिले स्थलगत अवलोकन अनुगमन समेत गरेका थिए ।
१ करोड ७२ लाखभन्दा बढीको लागतमा योजना
योजनाका लागि कुल १ करोड ७२ लाख २७ हजार ९२२ रुपैयाँ लागतमा सम्झौता गरिएको विवरणमा उल्लेख छ। निर्माण कार्य सम्पन्न गर्दा करिब १ करोड ३४ लाख रुपैयाँ खर्च भएको जनाइएको छ।
फिनल्यान्ड सरकार, त्रिपुरासुन्दरी नगरपालिका र उपभोक्ताको साझेदारीमा याेजना सम्पन्न गरिएकाे हाे। कार्यक्रममा दिइएकाे जानकारी अनुसार फिनल्यान्ड सरकारको सहयोग १ करोड १७ लाख ११ हजार ८२५ रुपैयाँ उल्लेख छ। उपभोक्ताको नगद योगदान ५ लाख १० हजार रुपैयाँ र श्रमदानको मूल्य ३२ लाख ७३ हजार ३०५ रुपैयाँ रहेको छ। स्थानीय तहको योगदान १० प्रतिशत उल्लेख गरिएको छ ।
संरक्षण र मर्मतसम्भारमा स्थानीयको भूमिका महत्त्वपूर्ण
उद्घाटन कार्यक्रममा नगर प्रमुख जनचन्द्र रोकायाले नगरपालिकाले बजेट व्यवस्थापन गरेर रुम गाउँमा व्यवस्थित खानेपानी योजना सम्पन्न गर्न पाउँदा खुसी लागेको बताए। उनले स्थानीय बासिन्दालाई स्वच्छ पिउने पानी उपलब्ध गराउने उद्देश्यले योजना कार्यान्वयन गरिएको उल्लेख गरे।
स्थानीय तथा वडाध्यक्ष टंक थापाले योजना निर्माण सम्पन्न हुनु मात्रै उपलब्धि नभई यसको संरक्षण र सम्भारमा स्थानीय बासिन्दाको योगदान महत्त्वपूर्ण हुने बताए। २७ वर्षदेखि खानेपानीको समस्या झेल्दै आएका गाउँलेले फिनल्यान्ड सरकार र स्थानीय तहको सहयोगमा व्यवस्थित खानेपानी सुविधा पाएको भन्दै उनले सहयोगी निकायप्रति धन्यवाद व्यक्त गरे।
दिगो खानेपानी तथा सरसफाइ स्वच्छता परियोजना (सुस्वा) सुर्खेतमा कार्यरत प्राविधिक गुणस्तर सहजकर्ता कालीबहादुर बुढाले स्थानीयको मागअनुसार योजना व्यवस्थापन गरिएको बताए। उनले योजनालाई दीर्घकालसम्म सञ्चालन गर्न गाउँलेको निरन्तर निगरानी, संरक्षण, मर्मतसम्भार र स्थानीय लगानी आवश्यक रहेको बताए।


सुस्वा परियोजनाका नगर संयोजक धनप्रसाद बुढाले योजनाको प्रारम्भिक लगानी, निर्माणको अवस्था, निर्माण अवधिमा भएको खर्च, भुक्तानी प्रक्रिया तथा भुक्तानीको अवस्थाबारे जानकारी गराए। उनले सार्वजनिक सुनुवाइको उद्देश्य र योजनाको आर्थिक तथा प्राविधिक विवरणसमेत प्रस्तुत गरेका थिए ।

।नगरपालिका सामाजिक विकास संयाेजक तथा वडानम्वर ३ का अध्यक्ष भक्त बहादुर केसीले नगरप्मुख जनचन्द्र राेकाया उपप्रमुख देवी घर्ती वडानम्वर २ वडाअध्यक्ष टंक थापा पहल वास इकाई युनिटकाे सकारात्मक सहयाेगले याेजना छनाैट भई स्थानीयकाे अपनत्वमा याेजाा निर्माणमा सफलता प्राप्त भएकाे बताए ।

स्थानीय युवा टेक थापाले ब्यवस्थित खानेपानी भइसकेकाेमा सहयाेगी निकाय सबैलाई धन्यवाद दिदै गाउँमा दलित बस्ती लगायत अन्य बस्तीमा ढल निकासकाे समस्या र जाेखिम रहेकाले स्थानीय निकायले सहयाेग तथा पहल कखमी अगाडि बढाउन आग्रह गरे ।
तेस्रो चरणको सार्वजनिक सुनुवाइ तथा लेखापरीक्षणले योजनाको खर्च, निर्माण कार्य र कार्यान्वयन प्रक्रियालाई पारदर्शी बनाउँदै सरोकारवालाप्रति जवाफदेहिता सुनिश्चित समेत गरेकाे छ।
लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका रुम गाउँवासीका लागि रैसेनी दखि रुम गाउँसम्मकाे योजना सम्पन्न हुनु आधारभूत सेवामा पहुँच विस्तारको महत्त्वपूर्ण उपलब्धि बनेको छ। तसर्थ निर्माण गरिएका संरचनाको संरक्षण, नियमित मर्मतसम्भार र समुदायको सक्रिय सहभागिताले मात्रै योजनाको दिगोपना सुनिश्चित गर्नेछ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्