विष्णुप्रसाद देवकोटा
डोल्पा । त्रिपुरासुन्दरी नगरपालिकामा पाँचौँ मेयर कप जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता–२०८३ सुरु भएको छ। जिल्लाका २० टोली उपाधिका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।
‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने मूल नारासहित बुधबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशसभाकी पूर्वसमानुपातिक सांसद बदमी क्वाँरी बोहोरा र नगरप्रमुख जनचन्द्र रोकायाले संयुक्त रूपमा गरेका हुन्।
प्रतियोगितामा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। नगरपालिकाले सार्वजनिक गरेको समूह विभाजनअनुसार पोल ‘ए’ मा करेलीकोट डोल्पा, रेड एप्पल ‘बी’ त्रिपुरासुन्दरी–४, परिवर्तन युवा क्लब सु, टीवाईसी त्रिपुरासुन्दरी–१ र ठूलीभेरी–१० रहेका छन्।
त्यस्तै, पोल ‘बी’ मा माइफाल यार्सा स्पोर्ट्स क्लब ठूलीभेरी–५, मष्टा भवानी युवा क्लब जुफाल–७, सत्यदेवी युवा क्लब त्रिपुरासुन्दरी–२, टसी रिम्पोछे जनजागरण युवा क्लब त्रिपुरासुन्दरी–२ र सूर्यमुखी युवा क्लब ‘ए’ त्रिपुरासुन्दरी–५ छन्।
पोल ‘सी’ मा लिकु–१०, मनमा युवा क्लब जुफाल, सूर्यमुखी युवा क्लब ‘बी’ त्रिपुरासुन्दरी–५, मुड्केचुला र एफवाईए त्रिपुरासुन्दरी–६ रहेका छन्। पोल ‘डी’ मा त्रिपुरासुन्दरीका ११ र ८ नम्बर वडा, रेड एप्पल ‘ए’ त्रिपुरासुन्दरी–४, सूर्यदय युवा क्लब त्रिपुरासुन्दरी–३ जिउँ तथा आयोजक टोली छन्।
मेयर कप उद्घाटन सत्रमा बाेल्दै नेपाली कांग्रेस डाेल्पाका पार्टी सचिब हिक्मत शाही नेकपा एमाले अध्यक्ष लंकबहादुर राेकाया नेकपाका केन्द्रीय सदस्य काली चलाउने जिल्ला सह इन्चार्ज बबिकिशाेर गुरुङ लगायतका अतिथिले खेलकुद र खेलाडकाे लागि सबै भन्दा अनुशासन मर्यादा र खेल नियमकाे पालना महत्वपूर्ण हुने उल्लेख गर्दै नगरपालिकाले संचालन गर्दै आइरहेकाे मेयर कपले स्थानीय खेलाडी उत्पादन र क्षमता बृद्दिमा महत्त्वपूर्ण भुमिका रहनेमा जाेड दिए ।
जिल्ला खेलकुद विकास समितिमा राजनीतिक नियुक्ति र पक्ष पाेषणले गर्दा खेलकुद विकासमा असर परिरहेकाेमा दुख ब्यक्त समेत गरे ।उद्घाटन समारोहमा स्वनगत मन्तब्य राख्दै त्रिपुरासुन्दरी नगरपालिका–३ का वडाध्यक्ष भक्तबहादुर केसीले जिल्लाभित्रका खेलाडीलाई प्राथमिकता दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। यसपटकको ट्रफी जिल्लामै राख्ने लक्ष्य रहेको उनको भनाइ थियो।
जनप्रतिनिधिको कार्यकालमा खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण काम गर्ने उद्देश्यले कार्यपालिकाको निर्णयअनुसार प्रतियोगिता आयोजना गरिएको उनकाे भनाइ थियाे ।प्रतियोगिताका लागि नगरपालिकाले ११ लाख रुपैयाँ बजेट विनियोजन समेत गरेको छ।
त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा मेयर कप ब्यवस्थापन संयाेजक समेत रहेका डा. हेमन्त शाहीका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले दुई लाख, द्वितीयले एक लाख ५० हजार, तृतीयले एक लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै, उत्कृष्ट खेलाडीलाई सात हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर र अनुशासित खेलाडीलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
नगरपालिकाको प्रशासनिक केन्द्रन परिसरमा रहेको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन खेलमा जनप्रतिनिधि र कर्मचारीको टोली बीच भएकाे मैत्रीपूर्ण भलिबल खेलमा जनप्रतिनिधिले कर्मचारीलाई २–१ को सेटमा पराजित गरेको छ। प्रतियोगिताका अन्य खेल बिहीबारदेखि निरन्तर सञ्चालन हुने नगरपालिकाले जनाएको छ।






